

काठमाडौं । भदौ १० गते नेपालमा आएको भोटेकोसीको भीषण बाढीमा बगेर भारत पुगेका १७ वटा शव फेला परेका छन्। भारतीय सञ्चारमाध्यम तथा प्रशासनका अनुसार उत्तर प्रदेशस्थित गण्डक (नारायणी) नदी क्षेत्रमा ती शव बरामद भएका हुन्।
उत्तर प्रदेशको कुशीनगर जिल्लाका खड्डा र तमकुही राज तहसील क्षेत्रबाट १३ वटा शव फेला परेका छन्। त्यस्तै, महराजगञ्ज क्षेत्रमा भेटिएका तीन महिला र एक पुरुष गरी चारवटा शव आवश्यक प्रक्रिया पूरा गरी सोमबार नेपाली प्रशासनलाई हस्तान्तरण गरिएको भारतीय पक्षले जनाएको छ।
फेला परेका शवको तत्काल पहिचान हुन नसकेकाले भारतीय अधिकारीहरूले पोस्टमार्टमका क्रममा डीएनए नमुना सुरक्षित राखेका छन्। नेपालमा आएको विनाशकारी बाढीमा बगेका शव भारतीय क्षेत्रमा समेत पुग्न थालेपछि सीमावर्ती क्षेत्रमा सुरक्षा निकायले नदी किनारमा गस्ती तथा निगरानी बढाएका छन्। अधिकारीहरूले थप शव फेला पर्न सक्ने भन्दै खोजी तथा निगरानीलाई निरन्तरता दिएका छन्।