भोटेकोशी बाढीपीडितका लागि एमालेले कम्तीमा १ करोड २० लाख जुटाउने

भोटेकोशी बाढीपीडितका लागि एमालेले कम्तीमा १ करोड २० लाख जुटाउने

काठमाडौं । नेकपा एमालेले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि आफ्नै पहलमा राहत रकम संकलन गरी खर्च गर्ने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले राहत, उद्धार तथा पुनःस्थापनाका लागि कम्तीमा १ करोड २० लाख रुपैयाँ संकलन गरिने बताएका छन्।

सोमबार एमालेका बागमती प्रदेश र राजधानी प्रदेश कमिटीले १०-१० लाख रुपैयाँका दरले गरी २० लाख रुपैयाँ पार्टीलाई सहयोग हस्तान्तरण गरेका थिए। उक्त रकमको चेक बुझ्दै अध्यक्ष ओलीले एमालेले सरकारको भर नपरी आफ्नै स्रोतबाट समेत राहत वितरण गरिरहेको बताए।

विपद्का बेला उद्धार तथा राहतलाई प्रभावकारी बनाउन सरकार र सम्बन्धित सबै पक्षबीच समन्वय आवश्यक रहेको ओलीको भनाइ छ। सरकारी कोषमा रकम जम्मा भए पनि वास्तविक पीडितसमक्ष राहत पुग्न नसकेको जनगुनासो रहेको उनले बताए।

‘केन्द्र सरकारको कोषमा पैसा जम्मा भएको छ, राहत जम्मा भएको छ। तर जनता भोकै छन्, राहत पुग्न पाएको छैन,’ ओलीले भने, ‘यो स्थितिलाई न्यून गरौँ, अन्त्य गरौँ भनेर पहल एवम् प्रयास गरिरहेका छौँ।’

एमालेले संकलन गरेको रकम पीडितसम्म छिटो र प्रभावकारी रूपमा पुर्‍याउने माध्यम पहिचान गरी आवश्यकताअनुसार खर्च गर्ने ओलीले बताए। उनका अनुसार पार्टीले सरकारी कोषमा रकम जम्मा गर्नेभन्दा प्रत्यक्ष रूपमा वास्तविक पीडितसम्म राहत पुर्‍याउने विषयलाई प्राथमिकता दिनेछ।

ओलीले विपद्का बेला सबैले दिल खोलेर सहयोग गर्नुपर्ने बताउँदै उद्धारका लागि निजी हेलिकप्टर तथा तालिमप्राप्त जनशक्तिको प्रभावकारी उपयोग गर्नुपर्नेमा जोड दिए। पछिल्लो विपद्लाई जलवायु परिवर्तनको गम्भीर असरका रूपमा व्याख्या गर्दै ओलीले नेपालजस्ता जलवायु परिवर्तनबाट बढी प्रभावित मुलुकलाई विकसित देशहरूले क्षतिपूर्ति दिनुपर्ने धारणा पनि राखे।

वातावरण विनाशमा कम योगदान गरेका नेपालजस्ता साना तथा संवेदनशील मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै उनले क्षतिपूर्तिका विषयमा संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय संस्थाहरूले स्पष्ट नियम र मापदण्ड बनाउनुपर्ने बताए।

यसैबीच, एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पार्टीले रकम जम्मा गर्ने वा नगर्ने विषयमा निर्णय भइनसकेको बताए। उनका अनुसार पार्टीले संकलन गर्ने कम्तीमा १ करोड २० लाख रुपैयाँ कसरी र कुन माध्यमबाट खर्च गर्ने भन्ने विषयमा आवश्यक निर्णय पछि गरिनेछ।