

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सुरुङभित्र फसेकाको उद्धारमा स्वदेशी विज्ञताको सीमितता देखिएकाले विदेशी सहयोग लिन सरकार हिचकिचाउन नहुने बताएका छन्।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित पदाधिकारी, केन्द्रीय सदस्य तथा सरोकारवालाबीचको छलफलमा थापाले विपद्का बेला छिमेकी तथा अन्य मित्रराष्ट्रबाट सहयोग लिनु स्वाभाविक भएको बताए।
‘हामीसँग भएको विज्ञताले मात्र सुरुङमा उद्धार गर्न सम्भव छैन भन्ने जानकारी आएपछि मैले परराष्ट्रमन्त्रीलाई सम्पर्क गरी बाह्य मुलुकबाट मद्दत लिन आग्रह गरेको छु,’ उनले भने।
कांग्रेसले बाढीपहिरो तथा डुबानबाट उत्पन्न विपद्मा सरकारलाई पूर्ण सहयोग गर्दै उद्धार र राहत कार्यमा देखिएका कमजोरीबारे ध्यानाकर्षण गराउने निर्णय गरेको छ। सरकारका काममा देखिएका कमजोरी औँल्याउनु आलोचना नभई सहयोगकै रूपमा बुझ्नुपर्ने थापाको भनाइ छ।
विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले संघीय सरकारले स्थानीय सरकारसँग प्रभावकारी समन्वय गर्नुपर्ने बताए। स्थानीय सरकारलाई बाइपास गरेर विपद् व्यवस्थापन प्रभावकारी हुन नसक्ने उनको तर्क छ।
मुलुक शोकमा रहेका बेला कांग्रेसका कुनै पनि तहले सार्वजनिक उत्सव तथा भड्किला कार्यक्रम नगर्न उनले निर्देशन दिएका छन्। हरितालिका तीजलगायत पर्व सामान्य रूपमा मनाउन सकिने भए पनि सार्वजनिक उत्सव नगर्न उनले आग्रह गरे।
‘अबको सम्पूर्ण ध्यान उद्धार, राहत संकलन र वितरणमा केन्द्रित हुनुपर्छ,’ थापाले भने।
सभापति थापाको नेतृत्वमा कांग्रेसको विपद् व्यवस्थापन टोली सोमबारदेखि प्रभावित क्षेत्रमा पुगेर स्थलगत निरीक्षण तथा राहत समन्वय गर्ने भएको छ। फिल्डबाट प्राप्त वास्तविक अवस्थाका आधारमा सरकारलाई थप सुझाव र आवश्यक दबाब दिइने उनले बताएका छन्।