त्रिशूलीको बाढीले चरौँदीको झोलुङ्गे पुल बगायो

त्रिशूलीको बाढीले चरौँदीको झोलुङ्गे पुल बगायो

गोरखा । त्रिशूली नदीमा सोमबार बिहान आएको भीषण बाढीले गोरखा र धादिङ जोड्ने चरौँदी झोलुङ्गे पुल बगाएको छ।

गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने उक्त पुल बाढीले चुँडालेर बगाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

बाढीले त्रिशूली नदीमाथि रहेको धवादीस्थित अर्को झोलुङ्गे पुलमा समेत क्षति पुर्‍याएको छ।

गण्डकी गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारीका अनुसार नदीमा आएको बाढीको बहाव अत्यधिक तीव्र भएकाले झोलुङ्गे पुल नै बगाएको हो।

बाढीका कारण पुलमा क्षति पुगेपछि स्थानीयको आवतजावतमा थप समस्या भएको छ।