खोज तथा उद्धारभन्दा प्राविधिक सहयोग चाहिएको छ : परराष्ट्रमन्त्री खनाल

खोज तथा उद्धारभन्दा प्राविधिक सहयोग चाहिएको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले विनाशकारी बाढीपछि नेपाललाई सामान्य खोज तथा उद्धारभन्दा विशेषज्ञता र प्राविधिक क्षमतासहितको विदेशी सहयोग आवश्यक रहेको बताएका छन्।

रोयटर्ससँगको कुराकानीमा मन्त्री खनालले सुरुङभित्र फसेका व्यक्तिको उद्धार, पुल भत्किएका स्थानमा यातायात तथा सञ्चार सेवा पुनः सञ्चालन, मृतकको पहिचान, डीएनए परीक्षण तथा शव लामो समयसम्म सुरक्षित राख्नेलगायतका क्षेत्रमा विदेशी विशेषज्ञको आवश्यकता रहेको बताएका हुन्।

‘हामीलाई खोज तथा उद्धार कार्यका लागि सहयोग चाहिएको छैन, तर सुरुङमा फसेका मानिसहरूलाई निकाल्न, पुलहरू बगेका ठाउँमा यातायात र सञ्चार सम्पर्क सुचारु गर्न, शवहरूको पहिचान गर्न, डीएनए परीक्षण गर्न र शवहरूलाई लामो समयसम्म सुरक्षित राख्ने जस्ता प्राविधिक विषयमा विशेषज्ञ सेवा चाहिएको छ,’ उनले भने।

नेपालसँग पर्याप्त विशेषज्ञता तथा प्राविधिक ज्ञान नभएका क्षेत्रमा विशेष सेवा र प्राविधिक सहयोग उपलब्ध गराउन विदेशी मुलुकसँग आग्रह गरिएको उनले बताए। मन्त्री खनालका अनुसार विपद्को यस कठिन घडीमा नेपालका छिमेकी तथा अन्य मित्रराष्ट्रहरूले सहयोगको हात अघि बढाएका छन्। अहिले प्राप्त सहयोगलाई नेपालले आवश्यकताअनुसार विशेषज्ञ तथा प्राविधिक क्षेत्रमा केन्द्रित गर्ने तयारी गरेको छ।