रवीन्द्र ढाँट आज इतिहास रच्ने लक्ष्यसहित रोड टु युएफसीको सेमिफाइनलमा

रवीन्द्र ढाँट आज इतिहास रच्ने लक्ष्यसहित रोड टु युएफसीको सेमिफाइनलमा

काठमाडौं । नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँट आज करिअरकै ठूलो प्रतिस्पर्धामा उत्रँदैछन्। उनले रोड टु युएफसी सिजन-५ को सेमिफाइनलमा न्युजिल्यान्डका अपराजित फाइटर कासिब मर्डोकसँग प्रतिस्पर्धा गर्नेछन्।

रवीन्द्र र मर्डोकबीचको प्रतिस्पर्धा चीनको साङ्घाईस्थित अक्टागनमा शुक्रबार अपराह्न पौने ३ बजेपछि सुरु हुनेछ। दुवै फाइटरको व्यावसायिक प्रदर्शन उत्कृष्ट रहेकाले सेमिफाइनल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

१० खेलमा ९ जित

‘बझाङ्गी बाघ’ उपनामले परिचित रवीन्द्रले व्यावसायिक एमएमए करिअरमा हालसम्म बान्टमवेट विधामा १० खेल खेलेका छन्। उनले नौ खेलमा जित हात पारेका छन् भने एक खेलमा मात्र पराजित भएका छन्।

सन् २०२३ मा इस्माइल खानसँग पराजित भएपछि रवीन्द्रले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। गत वर्ष भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट–१७ मा भारतका चर्चित फाइटर चुनरेङ कोरेनलाई तेस्रो चरणमा नकआउट गर्दै उनले बान्टमवेट उपाधि जितेका थिए। उक्त जितसँगै रवीन्द्र म्याट्रिक्स फाइट नाइटको बान्टमवेट उपाधि जित्ने पहिलो नेपाली फाइटर बने।

रोड टु युएफसीमा पनि उत्कृष्ट यात्रा

रवीन्द्रले गत मेमा मकाउमा भएको रोड टु युएफसी सिजन–५ को क्वार्टरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका थिए।त्यससँगै उनी रोड टु युएफसीको सेमिफाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेका थिए।

अब मर्डोकलाई हराउन सके रवीन्द्र प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी बन्नेछन्। त्यसैले आजको खेल नेपाली एमएमएका लागि समेत ऐतिहासिक अवसरका रूपमा हेरिएको छ।

अपराजित मर्डोकसँग भिड्दै

रवीन्द्रका प्रतिद्वन्द्वी कासिब मर्डोक पनि अपराजित यात्रामा छन्। उनले आफ्नो व्यावसायिक एमएमए करिअरमा अहिलेसम्म कुनै खेल हारेका छैनन्। मर्डोकले गत मेमा रोड टु युएफसी सिजन-५ को क्वार्टरफाइनलमा जापानका युनोसुके मिनामीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन्।

रवीन्द्र आजको खेल जित्दै फाइनलमा पुग्ने लक्ष्यका साथ अक्टागनमा उत्रनेछन्। प्रतियोगिताको फाइनलसमेत जित्न सके उनले विश्वकै प्रतिष्ठित एमएमए संस्था युएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउनेछन्।