गल्छीमा बाढीको जोखिम बढ्यो, पृथ्वी राजमार्ग बन्द

गल्छीमा बाढीको जोखिम बढ्यो, पृथ्वी राजमार्ग बन्द

धादिङ । रसुवाबाट आएको बाढी धादिङको गल्छी क्षेत्रमा प्रवेश गरेसँगै जोखिम बढेको छ। बाढीले गल्छीको एउटा झोलुङ्गे पुलसमेत बगाएको छ। बाढीको सतह निरन्तर बढ्दै गएपछि आसपासका बस्ती र सडक क्षेत्रमा जोखिम बढेको हो। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार अहिलेसम्म जिल्लामा ठूलो मानवीय क्षति भएको छैन।

जोखिम बढेपछि प्रशासनले खोला किनारका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेको छ। विशेषगरी मलेखु र गल्छी क्षेत्रका तटीय बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाढीको जोखिमलाई ध्यानमा राख्दै पृथ्वी राजमार्गमा सवारी आवागमनसमेत रोकिएको छ। काठमाडौंँबाट बाहिरिएका सवारीसाधनलाई गल्छीमै रोकिएको छ भने सडकमा रहेका अन्य सवारीलाई अग्लो तथा सुरक्षित स्थानमा राखिएको प्रशासनले जनाएको छ। झोलुङ्गे पुल बग्नुका साथै बाढीको सतह बढिरहेकाले प्रशासनले अवस्था निरन्तर निगरानी गर्दै थप सुरक्षा तथा उद्धारको तयारी अघि बढाएको छ।