बाढीपछि प्रधानमन्त्री बालेनसँग मोदीको फोन संवाद

बाढीपछि प्रधानमन्त्री बालेनसँग मोदीको फोन संवाद

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग फोन संवाद गर्दै रसुवाको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।मोदीले बाढीबाट प्रभावित नेपालका नागरिकप्रति समवेदना व्यक्त गर्दै कठिन घडीमा भारतका जनता नेपालीको साथमा रहेको बताएका हुन्।

फोन संवादपछि मोदीले नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको बताएका छन्। उनले उद्धार तथा राहतका लागि भारतीय अधिकारीहरूले नेपाल सरकारका सम्बन्धित अधिकारीसँग समन्वय गरिरहेको जानकारीसमेत दिएका छन्।

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएपछि भारतसहित विभिन्न देश तथा अन्तर्राष्ट्रिय निकायबाट नेपाललाई सहयोगको प्रतिबद्धता आएको छ। उपलब्ध विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी छ।

भारत र नेपालबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै दुई देशका जनताको पारस्परिक हितमा सहकार्य गर्ने प्रतिबद्धता मोदीले यसअघि पनि व्यक्त गरेका थिए।