बाढीपीडितको उद्धारमा काठमाडौं महानगरका एम्बुलेन्स परिचालन

बाढीपीडितको उद्धारमा काठमाडौं महानगरका एम्बुलेन्स परिचालन

काठमाडौं । भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट ठूलो जनधनको क्षति भएपछि काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन समितिले उद्धार तथा राहतका लागि आवश्यक तयारीबारे छलफल गरेको छ।

कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको समितिको बैठकले प्रतिकार्य सञ्चालन तथा समन्वय र सहजीकरणका लागि समितिका सदस्यसचिव एवं विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपाललाई जिम्मेवारी दिएको छ।

महानगरपालिकाले सञ्चालन गरेका चारवटा एम्बुलेन्स नुवाकोटतर्फ पठाइएको छ भने थप दुईवटा एम्बुलेन्स त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा राखिएको छ।

त्यस्तै, महानगरअन्तर्गत कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार परिचालन गर्ने र घाइते तथा बिरामीका लागि आवश्यक औषधि उपलब्ध गराउने निर्णय गरिएको छ।

महानगरपालिकाको आपतकालीन सञ्चालन केन्द्रमा मौज्दात विपद् व्यवस्थापन सामग्री आवश्यकताअनुसार प्रभावित क्षेत्रमा उपलब्ध गराइनेछ। सामग्री तथा औषधि अपुग हुने अवस्था आएमा विपद् व्यवस्थापन कोषबाट खरिद गरी उपलब्ध गराउने समितिले निर्णय गरेको छ।