चीनबाट आएको बाढीले रसुवामा ठूलो क्षति, तिमुरे-स्याफ्रुबेँसी क्षेत्र संकटमा

चीनबाट आएको बाढीले रसुवामा ठूलो क्षति, तिमुरे-स्याफ्रुबेँसी क्षेत्र संकटमा

रसुवा । चीनतर्फबाट आएको भीषण बाढीका कारण रसुवामा भोटेकोशी र त्रिशूली नदीको बहाव अस्वाभाविक रूपमा बढ्दा तिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा ठूलो क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

बुधबार बिहान करिब साढे ८ बजे आएको बाढीका कारण घटनास्थलको अवस्था अत्यन्तै नाजुक बनेको एक सरकारी अधिकारीले बताएका छन्। बाढीको तीव्र बहावका कारण प्रभावित क्षेत्रमा पुग्न र क्षतिको विवरण संकलन गर्न समेत कठिनाइ भइरहेको छ।

ती अधिकारीका अनुसार तल्लो क्षेत्रमा बस्नसमेत नसक्ने अवस्था छ। माथिल्लो क्षेत्रबाट समेत बाढी प्रभावित क्षेत्रमा स्पष्ट रूपमा हेर्न नसकिएको उनले बताए। ‘बाढी एकदमै हिंस्रक छ। हामी ज्यान जोगाएर माथितिर भागेका छौँ। तलतिरको अवस्था नाजुक छ, माथिबाट पनि केही देखिएको छैन,’ उनले भने।

तिमुरे बजार क्षेत्रमा ठूलो क्षति पुगेको देखिएको अधिकारीले बताएका छन्। बाढीले सडक र नदी आसपासका संरचनामा क्षति पुर्‍याएको तथा रसुवा भन्सार कार्यालय क्षेत्रको अवस्थासमेत यकिन गर्न नसकिएको जनाइएको छ।

‘खोलाको किनारै हुँदै सडकसम्म बाढी आएको छ। भन्सारको अवस्था पनि माथिबाट केही देखिएको छैन,’ ती अधिकारीले भने। हालसम्म मानवीय तथा भौतिक क्षतिको यकिन विवरण प्राप्त हुन सकेको छैन। सुरक्षा जोखिमका कारण तल्लो क्षेत्रमा प्रत्यक्ष पुग्नसमेत कठिनाइ भइरहेको बताइएको छ।

बाढीपछि स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायले उद्धार र क्षतिको विवरण संकलनको तयारी थालेका छन्। तर तीव्र बहावका कारण प्रभावित क्षेत्रमा तत्काल पुग्न कठिनाइ भइरहेको छ।

भोटेकोशी नदी तिब्बतबाट नेपाल प्रवेश गरी टिमुरे, स्याफ्रुबेँसी हुँदै अघि बढ्छ र त्रिशूली नदीमा मिसिन्छ। हाल उपलब्ध सार्वजनिक स्रोतमा रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्डसमेत नदी कटानका कारण प्रभावित रहेको उल्लेख छ।