

काठमाडौं । बागमती प्रदेशमा सत्ता साझेदार तीन दलबीच सरकार सञ्चालनसम्बन्धी ६ बुँदे सहमति भएको छ। मुख्यमन्त्री किरण थापा मगरसहित नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच भएको सहमतिमा समृद्ध बागमती प्रदेश निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गरिएको छ।
सहमतिको दोस्रो बुँदामा मन्त्रालयको संख्या आठभन्दा नबढाउने गरी भागबन्डा गर्ने तथा सभामुख नेकपाबाट निर्वाचित गर्ने उल्लेख छ। सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार गर्न सात सदस्यीय समिति गठन गरिएको छ। समितिले सात दिनभित्र साझा कार्यक्रम तयार गर्ने सहमति भएको छ।
त्यस्तै, सरकार सञ्चालनका लागि संयन्त्र निर्माण गर्ने र प्रारम्भिक चरणमा उक्त संयन्त्रको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ। मन्त्रिपरिषद्लाई महिला सहभागितासहित समावेशी बनाउने तथा मन्त्रिपरिषद्को मर्यादाक्रममा मुख्यमन्त्रीपछि नेकपा र तेस्रो स्थानमा राप्रपा रहने पनि सहमति भएको छ।
सहमति पत्रमा मुख्यमन्त्री किरण थापा मगर, नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेल, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापाले हस्ताक्षर गरेका छन्। राप्रपाभित्रको विवादकै बीच बागमतीमा नयाँ सत्ता समीकरण बनेको हो। पार्टीले संसदीय दलका नेता थापासहित चार सांसदलाई कारबाहीसमेत गरेको थियो।