लुम्बिनीका तीन जसपा सांसदसँग फेरि स्पष्टीकरण

लुम्बिनीका तीन जसपा सांसदसँग फेरि स्पष्टीकरण

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल)ले लुम्बिनी प्रदेशका तीन जना प्रदेशसभा सदस्यसँग पुनः स्पष्टीकरण माग गरेको छ।

पार्टीको निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरेको भन्दै रूपन्देहीका सन्तोषकुमार पाण्डे, लुम्बिनीकी हेमा बेलवासे र बाँकेका भण्डारीलाल अहिरसँग २४ घण्टाभित्र पुनः स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको हो।

जसपा नेपाल केन्द्रीय कार्यालयबाट मंगलबार महासचिव डा. सुरेन्द्रकुमार झाले हस्ताक्षर गरेको पत्रमार्फत सांसदहरूलाई स्पष्टीकरण सोधिएको हो।

पार्टीले यसअघि भदौ १ गते पत्र पठाएर लुम्बिनी प्रदेश सरकारलाई समर्थन नगर्न र विश्वासको मत वा सम्बन्धित प्रस्तावमा विपक्षमा मतदान गर्न निर्देशन दिएको थियो। तर निर्देशनविपरीत सरकारको पक्षमा मतदान गरेपछि उनीहरूसँग सात दिनभित्र स्पष्टीकरण मागिएको थियो।

पार्टीका अनुसार यसअघि प्राप्त स्पष्टीकरण अध्ययन गर्दा नीति, निर्णय तथा निर्देशनको भावनाअनुकूल नदेखिएको र उठाइएका प्रश्नमा चित्तबुझ्दो जवाफ नआएको निष्कर्ष निकालिएको छ।

त्यसैले पार्टी निर्णय अवज्ञा गरेको विषयमा अनुशासनात्मक कारबाही किन नगर्ने, पार्टी निर्णयविपरीत काम गर्न मिल्ने वा नमिल्ने तथा त्यस्तो कार्यलाई विधानअनुसार कसरी लिने भन्नेबारे २४ घण्टाभित्र स्पष्ट धारणा पेस गर्न भनिएको छ।

तोकिएको समयभित्र स्पष्टीकरण नदिएमा वा जवाफ चित्तबुझ्दो नभएमा पार्टी विधान तथा प्रचलित निर्णयअनुसार आवश्यक अनुशासनात्मक कारबाही अघि बढाइने जसपा नेपालले चेतावनी दिएको छ।

पार्टीले आफ्ना नीति, निर्णय र निर्देशनको पालना गर्नु प्रत्येक सदस्यको अनिवार्य दायित्व रहेकोसमेत स्मरण गराएको छ।