

हेटौँडा । बागमती प्रदेशमा सत्तारूढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र असन्तुष्ट रहेका सांसदहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी सत्ता साझेदारी, मन्त्रालय बाँडफाँड र सरकारको स्थायित्वबारे छलफल गरेका छन्।
नेकपा बागमती प्रदेश संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल, गंगानारायण श्रेष्ठसहित आठ सांसदले मंगलबार काठमाडौंमा प्रचण्डसँग भेट गरेका हुन्।
भेटमा सांसदहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग सत्ता साझेदारी गरेर सरकार गठन गर्नुपर्ने परिस्थिति किन आयो, सरकार कसरी सञ्चालन गर्ने र गठबन्धनको स्थायित्व कसरी सुनिश्चित गर्ने भन्ने विषयमा प्रश्न उठाएका थिए।
उपनेता खनालका अनुसार उनीहरूले बागमतीमा आठभन्दा बढी मन्त्रालय बनाउन नहुने, नेकपाले तीन मन्त्रालय र सभामुख पद पाउनुपर्ने माग राखेका छन्। सत्ता साझेदारीमा नेकपाको हैसियतअनुसार शक्ति बाँडफाँड हुनुपर्ने उनीहरूको जोड छ।
मन्त्रालय बाँडफाँडमा एमालेले मुख्यमन्त्रीसहित दुई, नेकपाले सभामुखसहित दुई र राप्रपाले तीन मन्त्रालय पाउने सहमति भएको थियो। तर नेकपाले पाएको दुईमध्ये एक मन्त्रालयमा मात्रै मन्त्री नियुक्त भएकाले असन्तुष्ट सांसदहरूले थप दुई मन्त्रीको माग गरेका छन्।
उनीहरूले संसदीय दलका नेता, उपनेता तथा पार्टीका प्रमुख नेताहरूलाई बोलाएर प्रदेशको शक्ति बाँडफाँड साझा सहमतिमा टुंग्याउन अध्यक्ष प्रचण्डसँग आग्रह गरेका छन्।
यसैबीच, असन्तुष्ट सांसदहरूले मुख्यमन्त्री किरण थापामगरलाई विश्वासको मत दिने निर्णय गरेका छन्। प्रचण्डले विश्वासको मतपछि सत्ता साझेदारी र शक्ति बाँडफाँडबारे संयुक्त छलफल गर्ने प्रतिबद्धता जनाएको उनीहरूनिकट स्रोतले जनाएको छ।
यसअघि नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेलले पार्टीभित्र पर्याप्त छलफल नगरी एकलौटी निर्णय गरेको र अवसर बाँडफाँडमा पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूलाई प्राथमिकता दिएको भन्दै केही सांसद असन्तुष्ट बनेका थिए।
सोमबार मुख्यमन्त्री थापामगरले विश्वासको मत लिने तयारी गरेको प्रदेशसभा बैठकमा नेकपाका केही सांसद अनुपस्थित भएपछि विवाद सतहमा आएको थियो। बैठक तीनपटक सार्दा पनि बस्न नसकेपछि राजनीतिक अन्योल बढेको थियो।
नेकपाभित्र रिक्त सभामुख पद र सरकारमा बाँकी रहेको एक मन्त्री पदलाई लिएर पनि प्रतिस्पर्धा छ। सभामुखका लागि खनाल र श्रेष्ठसहितका सांसदले दाबी गरेका छन्।