बागमती प्रदेशका सांसद पदमुक्त भएको प्रचार नगर्न ज्ञानेन्द्र शाहीको आग्रह

बागमती प्रदेशका सांसद पदमुक्त भएको प्रचार नगर्न ज्ञानेन्द्र शाहीको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले बागमती प्रदेशका सांसद पदमुक्त भइसकेको भन्दै गलत प्रचार नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। शाहीले पार्टीले सम्बन्धित सांसदलाई कारबाही गर्न बागमती प्रदेशसभा सचिवालयमा निवेदन मात्र दिएको भन्दै निवेदन दर्ता हुँदैमा सांसद पदमुक्त नहुने स्पष्ट पारेका छन्।

सभामुखबाट औपचारिक निर्णय वा कानुनी प्रक्रियाअनुसार सम्बन्धित निकायबाट पदमुक्त भएको घोषणा नभएसम्म सांसद पदमुक्त भएको भन्दै समाचार बनाउनु र प्रचार गर्नु उचित नहुने उनको भनाइ छ।

उनले पार्टीका जिम्मेवार नेताहरूले समेत तथ्य नबुझी गलत सूचना फैलाउन थाले पार्टी कसरी बलियो बन्न सक्छ भन्दै प्रश्न गरेका छन्। ‘पार्टीले कारबाही गर्न सक्छ, तर कारबाहीको निवेदन बुझाउँदैमा सांसद पदमुक्त भएको मानिँदैन,’ शाहीले भनेका छन्।

सम्बन्धित सांसदहरू जनताबाट प्रत्यक्ष निर्वाचित भएकाले उनीहरूको पदको आधार जनताको मत भएको स्मरण गराउँदै शाहीले नेता तथा कार्यकर्तालाई भावनाभन्दा तथ्यका आधारमा धारणा राख्न आग्रह गरेका छन्।

यसैबीच, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको निर्देशन उल्लंघन गर्दै बागमती प्रदेश सरकारमा सहभागी भएका तीन सांसदलाई पदमुक्त गर्ने निर्णय गरेका छन्। केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङमाथि कारबाही गरिएको पार्टीले जनाएको छ। बागमती प्रदेश सरकारमा राप्रपाको सहभागितालाई लिएर पार्टीभित्र विवाद देखिँदै आएको छ।