

काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीलाई न्याय दिनुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।
शुक्रबार अधिकारकर्मी तथा आफन्तजनले माइतीघर मण्डलमा प्रदर्शन गर्दै गरिमाको हत्यामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेका हुन्।गरिमालाई न्याय दिनुपर्ने माग गर्दै बारामा पनि निरन्तर प्रदर्शन भइरहेको छ। स्थानीय बासिन्दाले दोषीलाई कारबाहीको माग गर्दै वीरगञ्ज–पथलैया सडक अवरुद्ध गरेका छन्।
प्रदर्शनकारीले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।