शंखमुलको ब्वाइज होस्टलमा युवकको हत्या

शंखमुलको ब्वाइज होस्टलमा युवकको हत्या

काठमाडौं । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–१७ घर भई हाल उक्त होस्टलमा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकी रहेका छन्।

प्रहरीका अनुसार कालाथोकीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र करिब २० वर्षीय प्रमित पटेलले कुटपिट तथा धारिलो हतियार प्रहार गरेका थिए।

गम्भीर घाइते कालाथोकीलाई उपचारका लागि मिनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। टाउको र घाँटीमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा चिकित्सकले मृत्यु भएको घोषणा गरेका हुन्।

घटनामा संलग्न शेखर यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। फरार रहेका प्रमित पटेलको खोजी भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।