रास्वपाले बनायो संसदीय दलको विधान संशोधन कार्यदल

रास्वपाले बनायो संसदीय दलको विधान संशोधन कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गरेको छ।

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार आवश्यकताअनुसार संसदीय दलको विधान संशोधन गर्न मुख्य सचेतकको नेतृत्वमा कार्यदल गठन गरिएको हो। “आवश्यकताअनुसार संसदीय दलको विधान संशोधन गर्न मुख्य सचेतकको नेतृत्वमा विधान संशोधन कार्यदल बनेको छ,” पराजुलीले जानकारी दिए।

बुधबार रास्वपा सभापति रवि लामिछानेले पार्टीका सांसद तथा मन्त्रीहरूलाई एकै ठाउँमा राखेर संसद्मा प्रस्तुत हुने शैली र संसदीय मर्यादाका विषयमा छलफल गरेका थिए। उक्त छलफलपछि संसदीय दलका उपनेता पराजुलीले विधान संशोधन कार्यदल गठनबारे जानकारी दिएका हुन्।

कार्यदलले आगामी सात दिनभित्र रास्वपाको संसदीय दलको विधानमा आवश्यक संशोधन प्रस्ताव तयार गरी कार्यविधिसहित बुझाउनेछ।

विधान संशोधनमा सांसदहरूले संसद्मा उपस्थित हुँदा पालना गर्नुपर्ने संसदीय मर्यादा, जनताप्रतिको जिम्मेवारी, विपक्षीका आवाजलाई सम्मान गर्ने व्यवहार तथा कानुन निर्माण प्रक्रियामा सांसदको भूमिकालाई थप प्रभावकारी बनाउने विषय समेटिने बताइएको छ।

संसद्मा रास्वपा सांसदहरूको प्रस्तुति र व्यवहारबारे पछिल्लो समय उठिरहेका प्रश्नलाई समेत ध्यानमा राख्दै पार्टीले संसदीय भूमिका थप व्यवस्थित र जिम्मेवार बनाउने तयारी गरेको हो।