

काठमाडौं । आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुवेदीको संयुक्त इजलासले श्रेष्ठलाई रिहा गर्न आदेश दिएको हो ।
श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले उनको पक्राउ गैरकानुनी भएको दाबी गर्दै साउन २८ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । साउन २९ गते न्यायाधीश ढकालको इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो । त्यस क्रममा बरामद गरिएका उपकरणसहित श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिइएको थियो ।
श्रेष्ठको पक्षबाट आज १७ जना कानुन व्यवसायीले बहस गरेका थिए । उजुरीकर्ताले आफैँ सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बिरका आधारमा समाचार प्रकाशित गर्दा कसरी वैयक्तिक गोपनीयता हनन भयो भन्ने प्रश्न उनीहरूले उठाएका थिए । सुनुवाइका क्रममा इजलासले सरकारी वकिलसँग पनि यही विषयमा प्रश्न गरेको थियो ।
सुनुवाइपछि श्रेष्ठलाई छाड्ने आदेश भएको हो । जनआस्था अनलाइनले अघिल्लो साताको सोमबार एक सांसद र युवतीले चुम्बन गरिरहेको तस्बिरसहित समाचार प्रकाशित गरेको थियो । उक्त तस्बिर युवतीकै फेसबुकबाट सार्वजनिक भएको बताइएको छ । सोही विषयलाई लिएर युवतीले वैयक्तिक गोपनीयता हनन भएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।
प्रहरीले साउन २७ गते राति श्रेष्ठलाई ललितपुरस्थित निवासबाटै पक्राउ गरेको थियो । पक्राउपछि उनलाई काठमाडौं प्रहरी परिसर लगिएकोमा साउन २९ गते प्रहरी वृत्त महाराजगञ्ज सारिएको थियो ।




