

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुलभ खरेललाई बोल्दाबोल्दै रोकेका छन्।
आकस्मिक समयमा बोल्ने क्रममा सांसद खरेलले रास्वपाले सञ्चालनमा ल्याएको ‘क्यान्डिडेट क्लब’बारे जानकारी गराउँदै स्थानीय तह तथा प्रदेश निर्वाचनका लागि योग्य, विज्ञ र ऊर्जाशील युवालाई उम्मेदवार छनोट गर्ने प्रक्रिया सुरु गरिएको बताएका थिए।
उनले उक्त विषयमा थप बोल्न खोजेपछि सभामुख अर्यालले उनलाई रोके। सभामुखले आकस्मिक समयमा उठाइएको विषय तत्कालै घटेको आकस्मिक घटना नभएको भन्दै बस्न निर्देशन दिए।
‘आकस्मिक समय माग्नुभएको थियो। यो विषय कहीँ पनि आकस्मिक देखिएन, त्यसकारण बसौँ,’ सभामुख अर्यालले भने।
प्रतिनिधिसभा नियमावलीअनुसार आकस्मिक समयमा अघिल्लो बैठक समाप्त भएपछि अर्को बैठक सुरु नहुँदासम्म भएका आकस्मिक घटनाबारे मात्रै सांसदहरूले बोल्न पाउने व्यवस्था छ।