मुलुक रूपान्तरणका लागि बौद्धिक आन्दोलन आवश्यक : मन्त्री खनाल

मुलुक रूपान्तरणका लागि बौद्धिक आन्दोलन आवश्यक : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहससँगै आन्दोलन आवश्यक रहेको बताएका छन्।

ग्रामीण आदर्श बहुमुखी क्याम्पसको प्रथम क्याम्पस सभाको उद्घाटन गर्दै मन्त्री खनालले समाज र देशलाई सही दिशामा अघि बढाउन प्राज्ञिक क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए।

उनले नेपालको शिक्षा अब कस्तो हुनुपर्छ भन्ने विषयमा गम्भीर बौद्धिक बहस आवश्यक रहेको उल्लेख गरे। तलब–भत्ताका लागि मात्रै गरिने आन्दोलनले मुलुकको रूपान्तरण गर्न नसक्ने उनको भनाइ थियो। ‘मुलुकको रूपान्तरणका लागि बौद्धिक आन्दोलन आवश्यक छ,’ उनले भने।

कार्यक्रममा पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले युवालाई स्वदेशमै बस्ने र काम गर्ने वातावरण निर्माण गर्न सरकारले प्राथमिकता दिनुपर्ने बताए।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामेश्वर बोहराले व्यावहारिक शिक्षालाई केन्द्रमा राख्दै समयअनुकूल शिक्षा प्रदान गर्न क्याम्पस प्रतिबद्ध रहेको बताए।