आज देशभर वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

आज देशभर वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका अधिकांश स्थानमा आज (साउन २८) वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको समेत जोखिम रहेको छ।

मौसमविद्हरूका अनुसार आज अपराह्नदेखि साँझसम्म काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा ठूलो वर्षा हुनसक्ने सम्भावना छ।

पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार राति मुग्लिन–पोखरा–बेनी सडकखण्डको आसपास तथा कर्णालीका जुम्ला, कालीकोट, सुर्खेत, जाजरकोट, दैलेख र अछाम क्षेत्रमा भारी वर्षा हुनसक्ने देखिएको छ। उनले शुक्रबार बिहानसम्म अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न सुझाव दिएका छन्।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि आज दिउँसोदेखि देशभर वर्षाको सम्भावना रहेको बताएका छन्। उनका अनुसार कोशी र मधेसका केही स्थानबाहेक अन्य प्रदेशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना छ।

विशेषगरी पश्चिम नेपालका पहाडी क्षेत्रमा बेलुकादेखि शुक्रबारसम्म भारी वर्षा हुनसक्ने उनको भनाइ छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।