काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्तिका लागि नभई राष्ट्रियता सुदृढ गर्ने उद्देश्यसहित स्वदेश फर्किएको बताएका छन्।
बिहीबार बैंकक हुँदै काठमाडौं आइपुगेका देउवाले चार बुँदामा दुई पृष्ठ लामो विज्ञप्ति जारी गर्दै विगतका विभाजन र विद्वेषका सबै घाउ निको पार्न आह्वान गरेका हुन्।
देउवाले अहिले मुलुकमा राष्ट्रिय एकतालाई मजबुत बनाउन सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन्।
‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रियता सुदृढ गर्न फर्किएको छु,’ उनले भनेका छन्, ‘म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर स्वदेश फर्किएको छु– विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर।’
उनले २०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्किँदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्ति एक हुनुपर्ने उद्घोष गरेको स्मरण गर्दै अहिले पनि राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन्।
देउवाले पछिल्लो राजनीतिक परिवर्तनमा जनतामा ठूलो परिवर्तनको आकांक्षा देखिएको भन्दै त्यसलाई सम्बोधन गर्नु वर्तमान सरकारको दायित्व भएको बताएका छन्।
‘आफ्नो दायित्व भुलेर राजनीतिक आग्रह–पूर्वाग्रह साँध्ने हो भने त्यो सत्तारूढ दल र मुलुककै लागि हितकर हुँदैन,’ उनले भनेका छन्, ‘जनताको आकांक्षा पूरा गर्ने बाटोमा सरकार अघि बढ्नुपर्छ।’
ताजा जनमतबाट उदाएको सत्तारूढ दलले जनताको मतको कदर गर्न नसके लोकतन्त्रमा जनता नै जनार्दन हुन् भन्ने विषय कसैले परिवर्तन गर्न नसक्ने देउवाको भनाइ छ।
उनले कांग्रेसका नेता–कार्यकर्ता अहिले निराश रहेको उल्लेख गर्दै पार्टीभित्रका साथीहरूको मनोबल बढाउने र उनीहरूको भावनालाई पुनः जोड्ने समय आएको बताएका छन्।