

सिन्धुपाल्चोक । चीनतर्फको न्यालमस्थित झिम्मु पोस्टनजिकै ठूलो पहिरो खस्दा भोटेकोशी नदीको बहाव प्रभावित भएको छ।
भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पाका अनुसार आज बिहान गाउँपालिका–२ लिपिङको पारिपट्टि चीनतर्फ ढुङ्गामाटोसहितको पहिरो खसेको हो।
पहिरोका कारण चीनबाट नेपालतर्फ बग्ने भोटेकोशी नदीको बहाव करिब आधा थुनिएको जनाइएको छ। नदीको बहाव थप अवरुद्ध भई जुनसुकै बेला विपद्जन्य घटना हुन सक्ने जोखिम रहेकाले तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अध्यक्ष शेर्पाले आग्रह गरेका छन्।
विशेषगरी भोटेकोशी, बाह्रबिसे र बलेफी गाउँपालिकाअन्तर्गतका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा नदी किनार र जोखिमयुक्त क्षेत्रमा नजान सशस्त्र प्रहरी बल लामोसाँघुले अनुरोध गरेको छ।