किशोर श्रेष्ठको रिहाइ माग्दै पत्रकार महासंघको धर्ना

किशोर श्रेष्ठको रिहाइ माग्दै पत्रकार महासंघको धर्ना

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई विनासर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ।

महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा पत्रकारहरूले कालोपट्टी बाँधेर प्रदर्शन तथा धर्ना दिएका हुन्। शान्तिपूर्ण रूपमा धर्ना बस्न खोज्दा प्रहरीले रोकेपछि केहीबेर पत्रकार र प्रहरीबीच घम्साघम्सीसमेत भएको थियो।

प्रदर्शनमा सहभागी पत्रकारहरूले ‘प्रहरी दमन मुर्दावाद’, ‘राज्य आतंक बन्द गर’, ‘प्रेस स्वतन्त्रता पुनर्बहाली गर’, ‘पत्रकार किशोर श्रेष्ठलाई विनासर्त रिहा गर’ लगायतका नारा लगाएका थिए। उनीहरूले विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन गर्नुका साथै केही सहभागीले बलिरहेको लाल्टिनसमेत बोकेका थिए।

नेपाल प्रहरीले मंगलबार राति जनआस्था साप्ताहिकका प्रधानसम्पादक श्रेष्ठलाई पक्राउ गरेको थियो। प्रहरीले उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान भइरहेको जनाएको छ।

बुधबार बिहान प्रहरीले सानेपास्थित जनआस्था कार्यालयमा समेत खानतलासी गरेको थियो। प्रहरीले कम्प्युटर तथा अन्य विद्युतीय उपकरण हेर्नुपर्ने भएकाले कार्यालयमा खानतलासी गरिएको जनाएको छ।

महासंघले श्रेष्ठको पक्राउ र जनआस्था कार्यालयमा गरिएको खानतलासीलाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै विरोध गरेको छ। श्रेष्ठलाई विनासर्त रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनीसमेत महासंघले दिएको छ।

विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव हुन्। उनी खोजी पत्रकारितामा लामो समयदेखि सक्रिय पत्रकारका रूपमा परिचित छन्।