

रोल्पा । रोल्पामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या तीन पुगेको छ। ९ जना अझै बेपत्ता छन् भने दुई जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ।
थबाङ गाउँपालिका–५ बोटबारामा बुधबार राति ८ः४० बजे घरमाथिबाट आएको पहिरोले कमलबहादुर पुनमगरलगायत ६ वटा घर तथा गोठ पुरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
पहिरोमा परी थबाङ–५ का ६० वर्षीय कमलबहादुर पुनमगर, १८ वर्षीय शान्ती पुनमगर र ७१ वर्षीया मनरखी पुनमगरको मृत्यु भएको छ। उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ।
पहिरोमा परी २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी थप उपचारका लागि बाहिर लैजाने तयारी भइरहेको छ।
बेपत्ता हुनेमा ४० वर्षीया जुनकुमारी पुनमगर, ९ वर्षीय अशिम पुनमगर, ६ वर्षीय अशोक पुनमगर, ७५ वर्षीय डलबहादुर पुनमगर, ८० वर्षीय अजम्बर पुनमगर, ७८ वर्षीय बलबहादुर पुनमगर, ७२ वर्षीय लिलबहादुर पुनमगर, ७१ वर्षीया मनी पुनमगर र ६७ वर्षीया हस्तकला रोकामगर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी पञ्चकुमार बाखुका अनुसार सुरुमा १० जना बेपत्ता भएकोमा एक जनाको शव फेला परिसकेको छ। बाँकी ९ जनाको खोजी तथा उद्धार कार्य जारी छ।
प्रहरी र स्थानीयवासीको टोलीले घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी राखेको छ। पहिरोबाट भएको क्षतिको थप विवरण आउन बाँकी छ।