

काठमाडौं । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रहरीले सानेपास्थित जनआस्था कार्यालयमा खानतलासी गरेको छ। बिहीबार बिहानै जिल्ला प्रहरी परिसर काठमाडौंको टोली कार्यालयमा पुगेर कागजपत्र तथा इलेक्ट्रोनिक उपकरणहरू जाँच गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार कम्प्युटर तथा अन्य डिजिटल उपकरण जाँच गर्न खानतलासी गरिएको हो। प्रहरी टोली बिहान करिब ७ बजे कार्यालय पुगेको थियो।
कार्यालयमा पुगेका प्रहरीले विभिन्न कागजपत्र तथा इलेक्ट्रोनिक उपकरण संकलन गरेको जनाइएको छ।
पत्रकार श्रेष्ठलाई प्रहरीले बुधबार राति पक्राउ गरेको थियो। उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
श्रेष्ठको पक्राउको विरोधमा नेपाल पत्रकार महासंघले आन्दोलनको चेतावनी दिएको छ। महासंघका अध्यक्ष निर्मला शर्मासहित पत्रकार तथा सञ्चारकर्मीले काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिँदै पक्राउप्रति आपत्ति जनाएका छन्।
श्रेष्ठ विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्ष, प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव हुन्। खोजी पत्रकारितामा पहिचान बनाएका श्रेष्ठ निर्भीक पत्रकारका रूपमा परिचित छन्।