देउवा आज काठमाडौं फर्किँदै, विमानस्थलमा सुरक्षा व्यवस्था कडा

देउवा आज काठमाडौं फर्किँदै, विमानस्थलमा सुरक्षा व्यवस्था कडा

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज बिहीबार थाई एयरलाइन्सको उडानमार्फत काठमाडौं फर्किँदै छन्। अध्यागमन स्रोतका अनुसार उनको विमान दिउँसो १२ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने पूर्वनिर्धारित तालिका छ।

काठमाडौँ प्रहरीका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार देउवालाई विमानस्थलको सिनामंगलस्थित गोल्डेनगेटदेखि महाराजगञ्जको चुनादेवीस्थित निवाससम्म सुरक्षा एस्कर्टमा लैजाने व्यवस्था गरिएको छ। उनका अनुसार देउवालाई पक्राउ वा धरपकड गर्ने कुनै योजना छैन।

गत वर्ष भदौ २४ गते जेन-जी आन्दोलनका प्रदर्शनकारीबाट शारीरिक दुर्व्यवहारमा परेपछि स्वास्थ्य उपचारका लागि सिंगापुर गएका देउवा करिब पाँच महिनापछि बैंकक हुँदै काठमाडौं फर्किन लागेका हुन्।

देउवालाई स्वागत गर्न चाहने कांग्रेस कार्यकर्तालाई गोल्डेनगेटसम्म भेला हुन अनुमति दिइनेछ। तर विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलस्थित आगमन कक्षमा भने कांग्रेसका केही शीर्ष नेतालाई मात्र प्रवेश दिइने भएको छ। आगमन व्यवस्थापनको जिम्मेवारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले सम्हाल्ने जनाइएको छ।