

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारत भ्रमणको निमन्त्रणा दिएको भारतीय विदेश मन्त्रालयले पुष्टि गरेको छ। मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनको भारत भ्रमणको निमन्त्रणा पुष्टि गर्दै भ्रमणको मिति तय भएपछि जानकारी गराउने बताए।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री बालेन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच सोमबार काठमाडौंमा भएको भेटवार्ताबारे पनि प्रश्न गरिएको थियो। प्रवक्ता जैसवालका अनुसार भेटवार्तामा दुई देशबीचका द्विपक्षीय हितका विषयमा छलफल भएको थियो।
उनले भने, ‘नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय हुनासाथ जानकारी गराउनेछु।’ यसअघि नै भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणा नेपाल सरकारले स्वीकार गरिसकेको बताइएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले गत चैतमा प्रधानमन्त्री बालेनले भारत भ्रमणको निमन्त्रणा पाइसकेको सार्वजनिक गरेका थिए। त्यतिबेला उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग समेत भेटवार्ता गरेका थिए।
यसैबीच, भारतले आगामी ब्रिक्स सम्मेलनमा क्षेत्रीय संगठनका नेताहरूलाई निमन्त्रणा गर्ने तयारी भइरहेको जनाएको छ। प्रवक्ता जैसवालले विभिन्न क्षेत्रीय गठबन्धनका नेताहरूलाई निमन्त्रणा दिइसकेको र यसबारे थप जानकारी दिँदै जाने बताए।
नेपाल र भारतबीच पछिल्लो समय केही विषयमा मतभिन्नता देखिए पनि द्विपक्षीय सम्बन्ध र कूटनीतिक संवाद निरन्तर रहेको भारतीय पक्षको दाबी छ। द्विपक्षीय सम्बन्धबारे जैसवालले भने, ‘कुनै–कुनै विषयमा सहमति नबने पनि जुनसुकै विषयमा द्विपक्षीय वार्ता गर्ने संयन्त्रहरू छन्। नेपाल र भारतको सम्बन्ध राम्रो छ।’