काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले उद्योगमन्त्री गौरीकुमारी यादवलाई स्पष्टीकरण सोध्न प्रधानमन्त्री बालेन शाहसँग माग गरेकी छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद ओलीले मन्त्री यादव ग्यास आपूर्ति प्रणाली सुधार गर्नुभन्दा आलोचना गर्ने व्यक्तिहरूलाई फोन गरेर व्यक्तिगत रूपमा ग्यास उपलब्ध गराउनेतर्फ केन्द्रित भएको आरोप लगाइन्। उनले सर्वसाधारण घण्टौँसम्म ग्यासको लाइनमा बस्नुपर्ने अवस्था रहे पनि मन्त्रीले त्यसतर्फ ध्यान नदिएको बताइन्।
‘उद्योगमन्त्री ग्यास बाँड्दै हिँड्नुभएको छ। फोन गरेर तपाईंको घरमा ग्यास छ भनेर सोध्दै हुनुहुन्छ। जनता तातो घाममा ग्यासको लाइनमा बसेको उहाँले देखिराख्नुभएको छैन,’ ओलीले भनिन्।
मन्त्रीको काम सीमित व्यक्तिलाई फोन गरेर ग्यास उपलब्ध गराउने नभई समग्र आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउने भएको उनको भनाइ थियो।
‘के मन्त्रीको काम व्यक्ति–व्यक्तिलाई ग्यास बाँड्दै हिँड्ने हो? कति जनालाई उहाँले फोन गर्न सक्नुहुन्छ? दश, बीस, तीस जना। हजारौँ, लाखौँलाई त फोन गर्न सक्नुहुन्न। उहाँको काम त यो प्रणालीलाई काम गराउने हो,’ उनले भनिन्।
सांसद ओलीले मन्त्री यादवले व्यक्तिगत रूपमा दया गरेजस्तो गरी केही व्यक्तिलाई ग्यास उपलब्ध गराइरहेको आरोप लगाउँदै राज्यको दया नभई व्यवस्थित आपूर्ति प्रणाली आवश्यक रहेको बताइन्।
‘व्यक्तिगत तवरमा दया दिएजस्तो दुई–चार जनालाई ग्यास बाँडेर हिँडिराख्नुभएको छ। हामीले राज्यको दया होइन, व्यवस्थापन खोजेका हौँ,’ उनले भनिन्।
मन्त्रीले सरकारको आलोचना गर्ने व्यक्तिहरूको घरमा ग्यास पुर्याउने गरेको आरोप लगाउँदै ओलीले यस्तो कार्यप्रति प्रधानमन्त्रीले जवाफ माग्नुपर्ने बताइन्।
‘उहाँले विरोधमा कुन–कुन मान्छेले लेखिराखेका छन्, उनीहरूको घरमा ग्यास पुर्याउँदै हुनुहुन्छ। यस्तो मन्त्रीलाई प्रधानमन्त्रीले स्पष्टीकरण सोध्नुपर्छ,’ ओलीले भनिन्।
उनले राज्यको प्रणालीलाई कमजोर बनाउनेभन्दा आपूर्ति प्रणालीलाई व्यवस्थित र सहज बनाउन मन्त्रीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्।