कांग्रेसको महाधिवेशनसम्बन्धी गतिविधि रोक्न इतर समूहको निर्वाचन आयोग र पार्टीलाई पत्र

कांग्रेसको महाधिवेशनसम्बन्धी गतिविधि रोक्न इतर समूहको निर्वाचन आयोग र पार्टीलाई पत्र

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको महाधिवेशनसम्बन्धी गतिविधि तत्काल अघि नबढाउन आग्रह गर्दै निर्वाचन आयोग र पार्टी केन्द्रीय कार्यालयलाई पत्राचार गरेको छ।

इतर समूहको राष्ट्रिय भेला मूल आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले मंगलबार निर्वाचन आयोग र कांग्रेस केन्द्रीय कार्यालयलाई पत्र पठाएका हुन्।

कांग्रेस नेता दीपक खड्काका अनुसार सर्वोच्च अदालतले दिएको निस्सा (पुनरावलोकनको अनुमति) लाई आधार बनाएर पार्टीका गतिविधि स्थगित गर्न आग्रह गर्दै पत्राचार गरिएको हो।

‘अदालतको निस्सालाई आधार मानेर पार्टीका गतिविधि स्थगित गर्न आयोग र पार्टी कार्यालयलाई अनुरोध गरेर डा. शशांकले चिठी पठाउनुभएको हो,’ खड्काले भने।

इतर समूहले पत्रमार्फत पार्टीका निर्णयहरू रोक्का गर्न, दूरगामी प्रभाव पार्ने निर्णय नगर्न तथा विधिको शासनको सम्मान गर्न आग्रह गरेको छ।

पत्रमा आगामी १५औँ महाधिवेशन वा विशेष महाधिवेशनसँग सम्बन्धित कुनै पनि सांगठनिक, प्राविधिक वा नीतिगत कार्यतालिका तत्काल स्थगित गर्न माग गरिएको छ।

त्यस्तै, सर्वोच्च अदालतको अन्तिम फैसला नआएसम्म पार्टीका तर्फबाट गरिने दीर्घकालीन प्रभाव पार्ने नीतिगत, राजनीतिक, सांगठनिक तथा आर्थिक निर्णयहरू यथास्थितिमा राख्न आग्रह गरिएको छ।

सर्वोच्चको पूर्ण इजलासबाट मुद्दाको अन्तिम फैसला नभएसम्म पार्टीका सम्पूर्ण सांगठनिक संरचनालाई साविककै अवस्थामा राख्दै अदालतको गरिमा र कानुनी प्रक्रियालाई सम्मान गर्न पनि इतर समूहले आग्रह गरेको छ।

सर्वोच्च अदालतले साउन २१ गते नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दा पुनरावलोकनका लागि निस्सा प्रदान गरेको थियो। सर्वोच्चको उक्त निर्णयसँगै कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवाद पुनः सुनुवाइ हुने प्रक्रिया अघि बढेको छ।