कांग्रेस केन्द्रीय समिति बैठकमा पाँच प्रदेश सभापति सहभागी, दुई अनुपस्थित

कांग्रेस केन्द्रीय समिति बैठकमा पाँच प्रदेश सभापति सहभागी, दुई अनुपस्थित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सात प्रदेशका सभापतिमध्ये पाँच जना सहभागी भएका छन् भने दुई प्रदेशका सभापति अनुपस्थित रहेका छन्।

आइतबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा प्रदेश सभापतिहरूलाई आमन्त्रित सदस्यका रूपमा सहभागी गराइएको छ। बैठकमा सहभागी प्रदेश सभापतिहरूमा कोशीका उद्धव थापा, मधेशका कृष्ण यादव, बागमतीका इन्द्र बानियाँ, गण्डकीका शुक्रराज शर्मा र लुम्बिनीका अमरसिंह पुन रहेका छन्।

कर्णाली प्रदेशका सभापति ललितजंग शाही र सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायर भने बैठकमा सहभागी नभएको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन्।

आजदेखि केन्द्रीय सदस्यले धारणा राख्दै

आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सोमबारबाट केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्न थालेका छन्।

बैठकमा छलफलका लागि विभिन्न आठ एजेन्डा तय गरिएको छ। पार्टीको आगामी महाधिवेशनदेखि समसामयिक राजनीतिक विषयसम्मलाई छलफलको मुख्य विषय बनाइएको छ।

पार्टीसँग सम्बन्धित एजेन्डामा १५औँ महाधिवेशनको तयारी, नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अद्यावधिक र वितरण, महाधिवेशन तयारी समिति गठन तथा विधान मस्यौदा समिति गठनलगायत विषय रहेका छन्।

त्यस्तै, प्रचारप्रसार, भोजन तथा आवास, मञ्च व्यवस्थापनलगायतका उपसमिति गठन तथा कार्यसम्पादन समितिका निर्णय अनुमोदनसम्बन्धी विषयमा पनि बैठकमा छलफल हुनेछ।

सदस्यता व्यवस्थापनसम्बन्धी केन्द्रीय समितिको निर्णय अनुमोदन तथा जनसम्पर्क समिति र भ्रातृ संस्थाहरूका विधानका विषयसमेत बैठकका एजेन्डामा समेटिएका छन्।

सरकार र प्रदेशको राजनीतिक अवस्थाबारे पनि छलफल

बैठकमा पछिल्लो समय तराई–मधेशमा भएका घटनाक्रम तथा सामाजिक सद्भाव कायम गर्ने विषयमा समेत छलफल हुनेछ।

त्यस्तै, सरकारका १०० दिन र त्यसपछिका गतिविधि, प्रमुख प्रतिपक्षी दलका रूपमा संसद् तथा संसद्बाहिर कांग्रेसको भूमिका, प्रदेश सरकारका सन्दर्भमा विकसित राजनीतिक परिस्थिति तथा समसामयिक राजनीतिक विषय बैठकका थप एजेन्डा रहेका छन्।

केन्द्रीय समिति बैठकमा उठ्ने नेताहरूका धारणाका आधारमा कांग्रेसले आगामी राजनीतिक तथा सांगठनिक रणनीति तय गर्ने अपेक्षा गरिएको छ।