

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहयोग र विकास साझेदारी विस्तार गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा प्रधानमन्त्री शाहले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
प्रधानमन्त्री शाहले दुई देशबीच आपसी सहयोग र सहकार्यका क्षेत्रलाई थप विस्तार गर्दै विकास साझेदारीलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए।
राजदूत झाङ माओमिङले प्रधानमन्त्री शाहलाई कार्यकालको सफलताको शुभकामना दिँदै नेपाल–चीन सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउन चीन प्रतिबद्ध रहेको बताएका थिए।
प्रधानमन्त्री शाहसँग यसअघि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि शिष्टाचार भेट गरेका थिए। पछिल्ला भेटवार्तामा नेपालले आफ्ना छिमेकी मुलुकसँगको सम्बन्ध र सहकार्यलाई निरन्तरता दिने सन्देश दिएको छ।