कांग्रेसको राष्ट्रिय भेला साउन २९ देखि, ७ प्रदेश र ७७ जिल्लाका सभापतिलाई निम्तो

कांग्रेसको राष्ट्रिय भेला साउन २९ देखि, ७ प्रदेश र ७७ जिल्लाका सभापतिलाई निम्तो

काठमाडौं । नेपाली कांग्रेसले आगामी साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलाको तयारी तीव्र बनाएको छ। राष्ट्रिय भेलाका संयोजक डा. शशांक कोइरालाले कांग्रेसका सातै प्रदेशका सभापति, ७७ जिल्ला सभापति तथा १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिका सभापतिलाई सहभागिताका लागि औपचारिक पत्र पठाएका छन्।

भेलामा प्रदेश सभापति, जिल्ला सभापति, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, पूर्वकेन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्वमन्त्री तथा सांसद, प्रदेशसभा क्षेत्रीय सभापति तथा महानगर, नगरपालिका र गाउँपालिका कार्यसमितिका सभापतिलाई सहभागी गराउने तयारी गरिएको छ।

लोकतन्त्र र पार्टीको भावी दिशाबारे छलफल हुने

आयोजकका अनुसार नागरिक अधिकार र लोकतन्त्रको रक्षाका लागि आवश्यक नीतिगत छलफल गर्न राष्ट्रिय भेला आयोजना गर्न लागिएको हो। भेलामा मुलुकको वर्तमान राजनीतिक अवस्था, लोकतन्त्र, राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकतामाथिका चुनौतीका साथै नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादबारे समेत छलफल हुने जनाइएको छ।

भेला संयोजक कोइरालाले पठाएको पत्रमा सबल, सक्षम र सुदृढ कांग्रेसले मात्रै मुलुकसामु देखिएका चुनौतीको सामना गर्न सक्ने विगतका अनुभव रहेको उल्लेख गरिएको छ।

पत्रमा भनिएको छ, ‘मुलुकको वर्तमान राजनीतिक अवस्था, लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथिको चुनौती, हाम्रो पार्टी नेपाली कांग्रेसभित्रको विवादलाई मध्यनजर गर्दै सबल, सक्षम र सुदृढ कांग्रेसले नै सबै चुनौतीको सामना गर्न सक्ने विगतका अनुभव रहेकोले पार्टीको सम्पूर्ण एकता र भावी कार्यदिशा तय गर्न यही २०८३ श्रावण २९-३१ गतेसम्म नेपाली कांग्रेसको राष्ट्रिय भेला काठमाडौंमा आयोजना गरिएको हो।’

कोइरालाले सम्बन्धित प्रदेश तथा जिल्लाबाट क्षेत्रीय सभापतिसहित महाधिवेशन प्रतिनिधि, पूर्वकेन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्वमन्त्री तथा सांसद, प्रदेशसभा क्षेत्रीय सभापति तथा स्थानीय तहका कार्यसमितिका सभापतिलाई समेत भेलामा सहभागी गराउन आग्रह गरेका छन्।

संस्थापन इतर पक्षको सक्रियता बढ्दै

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चर्किरहेका बेला संस्थापन इतर पक्षले राष्ट्रिय भेला आयोजना गर्ने औपचारिक घोषणा गरेको हो। भेलामार्फत पार्टीभित्रको विवाद, सांगठनिक एकता तथा कांग्रेसको आगामी राजनीतिक कार्यदिशाबारे साझा धारणा निर्माण गर्ने प्रयास गरिने नेताहरूले बताएका छन्।