

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।
भेटमा प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई कार्यकालको सफलताको शुभकामना दिँदै दुई देशबीचको सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको बताएका थिए।
प्रधानमन्त्री शाहले नेपालका लागि चिनियाँ राजदूतसँग पनि छुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ। यसअघि प्रधानमन्त्री शाहले गत चैत २५ गते नेपालमा रहेका विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए।