‘कालो चस्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न’ : प्रधानमन्त्री बालेनलाई प्रतिपक्षको आग्रह

‘कालो चस्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न’ : प्रधानमन्त्री बालेनलाई प्रतिपक्षको आग्रह

काठमाडौं । प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई ‘कालो चस्मा खोल्न’ आग्रह गरेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलका सांसदहरूले आ-आफ्नो स्थानमा उभिएर विरोध जनाएका थिए। प्रधानमन्त्री शाहले नेपाल-भारत सीमासम्बन्धी दिएको विवादित अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूले निरन्तर विरोध गर्दै आएका छन्।

बैठकमा प्रतिपक्षी सांसदहरूले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसकी सांसद रेनुका काउचालाई बोल्न समय दिएका थिए। सांसद काउचाले प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत आफू विभिन्न चुनौतीसँग एक्लै लडिरहेको आशयमा दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै आफूलाई एक्लो नठान्न आग्रह गरिन्।

‘कालो चस्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न,’ उनले भनिन्, ‘मुलुकको हितमा तपाईंले चाल्ने हरेक कदममा प्रतिपक्ष तपाईंको साथमा छ।’ प्रधानमन्त्री शाहले केही समयअघि सामाजिक सञ्जालमार्फत आफू एक्लै लडिरहेको आशय व्यक्त गरेका थिए। सोही अभिव्यक्तिलाई लिएर सांसद काउचाले प्रतिपक्षको भूमिका स्पष्ट पारेकी हुन्।

उनले सरकारले गर्ने राम्रा काममा प्रतिपक्षले साथ दिने र गलत काममा खबरदारी गर्ने बताइन्। साथै, नेपालले समेत भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति सच्याउन उनले आग्रह गरिन्।

सांसद काउचाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसदहरूले समेत सरकारका केही निर्णय तथा अभिव्यक्तिमा विरोध जनाउन थालेको प्रसंग उल्लेख गर्दै गलत कामको विरोध सत्तारुढ दलभित्रबाट पनि हुनुपर्ने बताइन्।

उनले प्रधानमन्त्री शाहलाई आफू कुनै एउटा दल वा समूहको मात्र नभई सम्पूर्ण नेपाली जनताको प्रधानमन्त्री भएको स्मरण गराउँदै संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन आग्रह गरिन्।