

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेबीच आइतबार साँझ बालुवाटारमा करिब ४५ मिनेट भेटवार्ता भएको छ।
सरकार र रास्वपाबीच पछिल्लो समय देखिएको संशय र तिक्तताबीच भएको भेटमा सरकार सञ्चालन, राजनीतिक नियुक्ति, मन्त्रीहरूको भूमिकादेखि प्रधानमन्त्री शाह र लामिछानेका प्रस्तावित विदेश भ्रमणसम्मका विषयमा छलफल भएको स्रोतले जनाएको छ।
लामिछाने प्रधानमन्त्री शाहलाई भेट्न बालुवाटार पुगेका थिए। पछिल्लो समय प्रधानमन्त्री शाहले आफू विभिन्न चुनौतीसँग एक्लै लड्नुपरेको आशयका अभिव्यक्ति सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि लामिछाने असन्तुष्ट रहेको बताइएको थियो।
सोही विषयलाई लिएर पनि दुई नेताबीच छलफल भएको स्रोतको दाबी छ। भेटका क्रममा सरकारले गर्न लागेका सम्भावित निर्णय तथा केही राजनीतिक नियुक्तिका विषयमा समेत कुराकानी भएको जनाइएको छ।
उच्च स्रोतका अनुसार दुई नेताबीच विशेषगरी राजदूत छनोट, उच्च तहका राजनीतिक नियुक्ति तथा सरकारमा रहेका मन्त्रीहरूको भूमिकाबारे छलफल भएको थियो। त्यस्तै, प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमण र रास्वपा सभापति लामिछानेको प्रस्तावित चीन भ्रमणका विषयमा समेत भेटमा कुराकानी भएको बताइएको छ।
तर, बालुवाटारले प्रधानमन्त्री शाह र लामिछानेबीच सम्बन्धमा ठूलो दरार उत्पन्न भएको भन्ने चर्चालाई अस्वीकार गरेको छ। ‘दुई नेताबीच एकदमै दरार उत्पन्न भएजस्तो गरेर बुझिएको छ, त्यस्तो केही होइन। यसलाई नियमित छलफल मान्न सकिन्छ,’ बालुवाटार स्रोतले भन्यो।
लामिछानेसँग रास्वपाका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि बालुवाटार पुगेको पार्टी स्रोतले दाबी गरेको छ। यद्यपि, सुरक्षा स्रोतले वाग्ले भेटमा सहभागी भएको पुष्टि नगरेको बताइएको छ। प्रधानमन्त्री शाहका मुख्य सल्लाहकार कुमार बेन पनि भेटमा सहभागी भएको बताइए पनि बेनले भने आफू उक्त भेटमा सहभागी नभएको दाबी गरेका छन्।
प्रधानमन्त्री बालेन शाह बनेपछि लामिछाने दोस्रोपटक बालुवाटार पुगेका हुन्। प्रधानमन्त्री शाहले बालुवाटारमा अनौपचारिक जमघट तथा पारिवारिक भेटघाटबाहेक राजनीतिक भेटवार्ता तुलनात्मक रूपमा कम गर्ने गरेका छन्। यसअघि भएको भेटमा भने लामिछाने र शाहसँग कुमार बेनलगायत उच्च तहका केही नेता सहभागी भएको उच्च सुरक्षा स्रोतले पुष्टि गरेको थियो।