

काठमाडौं । काभ्रेको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट बेपत्ता भएका दम्पतीमध्ये वृद्धाको शव ओखलढुंगामा फेला परेको छ।
मण्डनदेउपुर नगरपालिका–७ निवासी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगाको हर्कपुरस्थित सुनकोशी नदी किनारमा फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक कविन राईका अनुसार सुनकोशी नदीमा फेला परेको शवको हुलिया तथा फोटो काभ्रेका आफन्तलाई पठाइएको थियो। आफन्तले शव तिलकुमारीको भएको पहिचान गरेको उनले बताए।
‘हामीले बेपत्ता भएका आफन्तलाई शवको फोटो पठाउँदा उहाँहरूले पुष्टि गर्नुभएको छ,’ प्रहरी निरीक्षक राईले भने। थप पुष्टिका लागि तिलकुमारीका आफन्त ओखलढुंगा पुगेका छन्।तिलकुमारीलाई पिठ्युँमा बोकेर नदीमा प्रवेश गरेका उनका श्रीमान् ६८ वर्षीय केदारनाथ पराजुलीको अवस्था भने अझै अज्ञात छ। पराजुली दम्पती बुधबार साँझ दोलालघाटबाट बेपत्ता भएका थिए। उनीहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको थियो।
यसैबीच जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले पनि सुनकोशी नदी किनारमा शव फेला परेको पुष्टि गरेको छ। ओखलढुंगाका डीएसपी राज महर्जनका अनुसार स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
‘हामीले शवको फोटो काभ्रेलाई पठाएका थियौँ। काभ्रेबाट बेपत्ता वृद्धाको भनेर सनाखत गर्नुभएको छ। उहाँहरू आएपछि मात्रै आधिकारिक पुष्टि हुन्छ,’ डीएसपी महर्जनले बताए।
केदारनाथको खोजी कार्य भने जारी रहेको प्रहरीले जनाएको छ।