सिंहदरबारको नाम परिवर्तन गरेर ‘अनामनगर दरबार’ राख्न सांसद ढकालको प्रस्ताव

सिंहदरबारको नाम परिवर्तन गरेर ‘अनामनगर दरबार’ राख्न सांसद ढकालको प्रस्ताव

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम परिवर्तन गरेर ‘अनामनगर दरबार’ राख्नुपर्ने प्रस्ताव गरेका छन्।

आइतबार आयोजित एक कार्यक्रममा बोल्दै सांसद ढकालले राजनीतिक परिवर्तनपछि देशका विभिन्न स्थान तथा विमानस्थलहरूको नाम परिवर्तन गरिए पनि ‘सिंहदरबार’को नाम भने यथावत् रहेको भन्दै प्रश्न उठाए।

नेपालमा सिंह नपाइने उल्लेख गर्दै उनले ‘सिंहदरबार’ नामको सान्दर्भिकतामाथि समेत प्रश्न गरेका छन्। उनका अनुसार राजनीतिक परिवर्तनपछि विभिन्न स्थानका नाम परिवर्तन भए पनि सिंहदरबारको नाम परिवर्तन नहुनु आफैंमा विचार गर्नुपर्ने विषय हो।

ढकालले भने, ‘परिवर्तनपछि सबै ठाउँहरूको नाम परिवर्तन भयो। एयरपोर्टहरूको पनि ठाउँ–ठाउँमा नाम परिवर्तन भए। तर सिंहदरबारको नाम परिवर्तन भएन। हामीसँग सिंह नै छैन। त्यसको नाम सिंहदरबार नै छ।’

उनले सिंहदरबारसँग जोडिएको पुरानो सोच र प्रतीकात्मक भावनालाई समेत परिवर्तन गर्नुपर्ने धारणा राखे।

‘त्यसलाई अनामनगर दरबार राख्दिएको भए हुन्थ्यो होला, परिवर्तनपछि दुनियाँ ठाउँको नाम परिवर्तन गर्दै गर्दा। हामीसँग सिंह नै छैन, त्यसको नाम सिंहदरबार नै छ र त्यसको केही हाउभाउ, भावभङ्गीहरू त्यो भाषाजस्तै छ। त्यो चिर्नुपर्नेछ,’ उनले भने। सांसद ढकालको यस्तो प्रस्तावले नेपालको प्रमुख प्रशासनिक केन्द्रको नाम परिवर्तनसम्बन्धी बहसलाई पुनः सतहमा ल्याएको छ।