

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु हुँदैछ। पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा दिउँसो १ बजे बैठक बस्न लागेको हो। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहने कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।
पूर्वसभापति शेरबहादुर देउवाले दिएको कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा पुनरावलोकनका लागि सर्वोच्च अदालतले निस्सा दिएको केही दिनपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको हो।
पार्टीभित्रको विवाद चर्किरहेका बेला बस्न लागेको बैठकलाई विशेष महत्वका साथ हेरिएको छ। देउवा पक्षले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा छुट्टै राष्ट्रिय भेला आयोजना गरेको छ।
यसैबीच, विगत पाँच महिनादेखि सिंगापुर र हङकङमा स्वास्थ्य उपचार गराइरहेका पूर्वसभापति देउवा साउन २६ गते राति स्वदेश फर्किने र कोइरालाको नेतृत्वमा हुने राष्ट्रिय भेलालाई सम्बोधन गर्ने तयारीमा छन्।
देउवा पक्षले पार्टीभित्रको विवाद समाधानका लागि नेतृत्वबाट ठोस पहल नभए छुट्टै राजनीतिक बाटो रोज्ने संकेत गरिरहेका कारण कांग्रेसभित्रको संकट थप गहिरिएको छ। विशेष महाधिवेशनमार्फत गगन थापा नेतृत्वमा आएपछि असन्तुष्ट बनेको देउवा पक्षले छुट्टै राष्ट्रिय भेला आयोजना गरेपछि पार्टी विभाजनको सम्भावनासमेत चर्चामा आएको छ।
यस्तो अवस्थामा आजदेखि सुरु हुने केन्द्रीय समिति बैठकले पार्टीभित्रको विवाद, संगठनात्मक विषय, आगामी महाधिवेशन तथा दुवै पक्षबीचको बढ्दो दूरी कम गर्ने सम्भावित उपायबारे महत्वपूर्ण निर्णय लिन सक्ने अपेक्षा गरिएको छ। कांग्रेसभित्रको विवाद समाधानका लागि नेतृत्वले तत्काल पहल नगरे पार्टी औपचारिक रूपमा दुई धारमा विभाजित हुन सक्ने जोखिम बढेको नेताहरूले बताउँदै आएका छन्।