

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय समिति अध्यक्ष सन्तोष परियारले संघीयता, गणतन्त्र र समावेशितालगायत राजनीतिक उपलब्धिको रक्षाका लागि ‘अग्रगामी मोर्चा’ले सशक्त भूमिका खेल्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रममा बोल्दै परियारले वर्तमान सरकार जनभावनाविपरीत र विचारविहीन भएको आरोप लगाए। उनले युवाहरूका सपना र आकांक्षालाई दक्षिणपन्थी शक्तिले दुरुपयोग गरिरहेको भन्दै ती सपना साकार पार्न मोर्चा गठन गरिएको बताए।
सरकारलाई जनताको ‘सेवक’ का रूपमा बुझ्नुपर्ने भन्दै उनले सरकारलाई ‘अभिभावक’ मान्ने राजनीतिक संस्कार अन्त्य हुनुपर्नेमा जोड दिए। मधेस र पहाडबीच सद्भावसँगै ‘समभाव’ आवश्यक रहेको उल्लेख गर्दै उनले गरिब, सुकुम्बासी, मजदुर तथा उत्पीडित वर्गका पक्षमा मोर्चाले सडक र सदन दुवैबाट आवाज उठाउने प्रतिबद्धता जनाए।
नयाँ भनिएका राजनीतिक शक्तिले विगतका राजनीतिक संघर्ष र योगदानको अवमूल्यन गरेको भन्दै परियारले असन्तुष्टि जनाए। समाज परिवर्तनमा हरेक पुस्ताको योगदान महत्वपूर्ण हुने उल्लेख गर्दै उनले उपेन्द्र यादव, जनार्दन शर्मा, प्रभु साह र रेशम चौधरी लगायतका नेताहरूको संघर्षलाई नजरअन्दाज गर्न नहुने बताए।
परियारले २००७ सालदेखिको राजनीतिक संघर्ष, मधेस आन्दोलन र जनयुद्धबाट प्राप्त नागरिक सर्वोच्चता, संघीयता तथा सामाजिक न्यायको पक्षमा मोर्चा दृढतापूर्वक उभिने बताए। उनले भने, ‘यदि संख्याको बलमा रहेको वर्तमान सरकारले यी उपलब्धिमाथि आक्रमण गर्न खोजेमा मोर्चाले त्यसको सशक्त प्रतिवाद गर्नेछ। सरकार नेपाली जनताको सेवक हो, अभिभावक होइन।’
वर्तमान संविधान पूर्ण नभए पनि तुलनात्मक रूपमा उत्पीडित समुदायको पक्षमा रहेको उल्लेख गर्दै परियारले यसको रक्षाका लागि जनता सचेत हुनुपर्ने बताए। ‘अग्रगामी मोर्चा’ले आगामी दिनमा समाजवाद, सुशासन र सामाजिक रूपान्तरणका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको समेत उपस्थिति थियो।