भदौ ३ मा विश्वासको मत लिँदै मुख्यमन्त्री बानियाँ

भदौ ३ मा विश्वासको मत लिँदै मुख्यमन्त्री बानियाँ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। शनिबार बसेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले भदौ ३ गते नै विश्वासको मत लिने गरी तयारी अघि बढाउने निर्णय गरेको हो।

नेकपा (एमाले)ले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता भएको एक महिनाभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ। मुख्यमन्त्री बानियाँसँग भदौ ५ गतेसम्मको समय रहे पनि कांग्रेसले दुई दिनअघि नै विश्वासको मत लिने तयारी गरेको हो।

तर, बानियाँका लागि विश्वासको मत जुटाउन भने चुनौतीपूर्ण देखिएको छ। कांग्रेससँगको सत्ता सहकार्यबाट एमाले बाहिरिएर नेकपासँग नयाँ समीकरण बनाएपछि बागमतीमा नयाँ सरकार गठनको सम्भावना बढेको छ। एमाले र नेकपा मिलेर सरकार बनाउने तयारीमा रहे पनि आवश्यक बहुमतको समीकरण अझै स्पष्ट भइसकेको छैन। यता, कांग्रेसले साना दल र स्वतन्त्र सांसदको समर्थन जुटाएर वर्तमान सरकारलाई निरन्तरता दिने रणनीति अघि सारेको छ। सोहीअनुसार कांग्रेसले आफ्ना सांसदलाई विश्वासको मतको तयारीमा जुट्न निर्देशन दिएको हो।

कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव मीनकृष्ण महर्जनका अनुसार विश्वासको मत लिनुभन्दा एक दिनअघि सबै सांसदलाई हेटौंडा पुग्न भनिएको छ। साथै, कांग्रेस सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत नेतासँग थप राजनीतिक छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ।

सरकार जोगाउन आवश्यक समर्थन जुटाउन अन्य दलका शीर्ष नेतासँग संवाद र समन्वय गर्ने जिम्मेवारी पार्टी नेतृत्वले लिएको महर्जनले बताए। बागमती प्रदेशसभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। कुनै पनि पक्षले स्पष्ट बहुमत जुटाउन नसकेको अवस्थामा मुख्यमन्त्री बानियाँले लिने विश्वासको मत प्रदेशको सत्ता समीकरणका लागि निर्णायक बन्ने देखिएको छ। कांग्रेसले आवश्यक समर्थन जुटाएर सरकार जोगाउँछ वा एमाले–नेकपा गठबन्धनले नयाँ सरकार गठनको बाटो खोल्छ भन्ने टुंगो भदौ ३ गतेको विश्वासको मतले लगाउनेछ।