कांग्रेस जिम्मेवार र परिपक्व बन्नुपर्छ : निधि

कांग्रेस जिम्मेवार र परिपक्व बन्नुपर्छ : निधि

जनकपुरधाम । नेपाली कांग्रेसका पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। शनिबार कांग्रेस धनुषाले जनकपुरधाममा आयोजना गरेको अन्तरक्रियामा बोल्दै निधिले लोकतान्त्रिक मूल्य–मान्यता, संविधानको रक्षा र जनताको अधिकारका पक्षमा कांग्रेस दृढ भएर उभिनुपर्ने बताए।

उनले पार्टीलाई थप सुदृढ, एकताबद्ध र प्रभावकारी बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए। पार्टीको शक्ति नेता–कार्यकर्ताबीचको एकता र संगठनको सक्रियतामा निर्भर हुने भन्दै उनले सबैलाई संगठन सुदृढीकरणमा जुट्न आग्रह गरे।

निधिले पार्टीभित्रको एकता, संगठन सुदृढीकरण र जनतासँगको सम्बन्धलाई केन्द्रमा राखेर राजनीतिक गतिविधि अघि बढाउनुपर्ने बताए। साथै, जनताका समस्या र अपेक्षालाई नजिकबाट बुझेर सोहीअनुसार पार्टीका गतिविधि सञ्चालन गर्न कार्यकर्तालाई सुझाव दिए। कार्यक्रममा कांग्रेस धनुषाका नेता तथा कार्यकर्ताले पार्टीभित्रको आन्तरिक विवाद छिटो समाधान गरी एकढिक्का भएर अघि बढ्न नेतृत्वलाई आग्रह गरेका थिए।