देउवा साउन २८ गते स्वदेश फर्किँदै, भोलिपल्टै निकट नेताहरूको भेलालाई सम्बोधन गर्ने

देउवा साउन २८ गते स्वदेश फर्किँदै, भोलिपल्टै निकट नेताहरूको भेलालाई सम्बोधन गर्ने
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २८ गते स्वदेश फर्किने भएका छन्। यसअघि साउन २६ गते नै नेपाल आउने भनिए पनि समय परिवर्तन गरिएको कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।

महतका अनुसार २६ गते आउँदा राति पर्ने भएकाले नेता–कार्यकर्ताको आग्रहमा देउवाको फर्किने मिति परिवर्तन गरिएको हो।

‘२६ गते आउँदा राति हुने भयो, त्यसैले नेता–कार्यकर्ताको मागबमोजिम हामीले समय परिवर्तन गर्न भनेका हौँ। अब उहाँ २८ गते दिउँसो १२ः२५ बजे काठमाडौं उत्रिनुहुनेछ,’ महतले भने।

देउवा स्वदेश फर्किँदा विमानस्थलमै स्वागत कार्यक्रम आयोजना गरिने उनले बताए। त्यसका लागि नेता तथा कार्यकर्तालाई विमानस्थलमा उपस्थित हुन आह्वान गरिएको छ।

महतले भने, ‘हामी स्वागत गर्नका लागि विमानस्थलमा जान्छौँ। त्यहीअनुसार नेता-कार्यकर्तालाई आह्वान गरेका छौँ।’

देउवा स्वदेश फर्किएको भोलिपल्टै उनीनिकट नेताहरूले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भेलामा पार्टीको पछिल्लो राजनीतिक अवस्था, संगठन तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।