

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार राति ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्दै भावुक स्टाटस लेखेपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा प्रतिनिधिसभा सदस्य मनिष झाले जवाफ दिएका छन्।
झाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई सम्बोधन गर्दै परिवर्तनका लागि ठूलो जनादेश पाएको सरकारमा कोही पनि एक्लो नरहेको बताएका हुन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा आफूले राखेको धारणामा अडिग रहेको उल्लेख गर्दै झाले सरकारले सुधार गर्नुपर्ने केही पक्ष रहेकोसमेत औँल्याएका छन्।
‘परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ,’ झाले लेखेका छन्। उनले प्रधानमन्त्रीको नियत र आशयमा आफूलाई कुनै शंका नरहेको तर सरकारका केही पक्षमा सुधार आवश्यक रहेको बताएका छन्।
‘हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शंका छैन, तर सुधार गर्नै पर्ने केही पक्ष छन्,’ उनले भनेका छन्। सरकारले पाएको ऐतिहासिक अवसर खेर जान नदिन आफूहरू निरन्तर सजग र सचेत गराउने भूमिकामा रहने झाले बताएका छन्।
‘यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ,’ उनले लेखेका छन्। जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्नेमा जोड दिँदै झाले आफू सरकारको साथमा रहेको स्पष्ट पारेका छन्। ‘जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु। यहाँ कोही एक्लो छैन,’ झाले भनेका छन्।