काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशको सरकार गठनसम्बन्धी सत्ता समीकरणमा सहभागी नहुने निर्णय गरेको छ।
राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बिहीबार राति बसेको संसदीय दलको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा सरकार गठनको गणितीय खेलमा संलग्न नहुने र कुनै पनि सत्ता समीकरणमा नजाने निर्णय सर्वसम्मतिले गरेको हो।
नेता थापाका अनुसार राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट प्राप्त निर्णय र निर्देशनअनुसार बागमती प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरिएको हो।
यसअघि नेकपा एमालेले साउन ६ गते कांग्रेसका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो। त्यसपछि साउन ९ गते एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकार गठनका लागि नेतृत्व बाँडफाँटको सहमति भएको थियो, जसअनुसार बागमती प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको छ।
तर प्रदेश सरकार गठनका लागि आवश्यक ५३ सांसदको समर्थन जुटाउन एमाले–नेकपा गठबन्धनलाई अझै बहुमत पुगेको छैन। एमालेका २५ र नेकपाका २६ गरी ५१ सांसद मात्र रहेकाले दुई मत अपुग छ।
१२ सांसद रहेको राप्रपाले सत्ता समीकरणबाट बाहिर रहने निर्णय गरेपछि अब सरकार गठनका लागि एमाले–नेकपा गठबन्धनले अन्य साना दल वा स्वतन्त्र सांसदहरूको समर्थन जुटाउनुपर्ने अवस्था बनेको छ।