सरर भयो नारायणगढ–बुटवल यात्रा, दुई घण्टामै पुग्न सकिने

सरर भयो नारायणगढ–बुटवल यात्रा, दुई घण्टामै पुग्न सकिने

चितवन । झण्डै सात वर्षसम्म निर्माणका कारण यात्रुलाई सास्ती दिएको नारायणगढ–बुटवल सडकखण्ड अहिले सहज बनेको छ। सडक विस्तारको अधिकांश काम सम्पन्न भएसँगै नारायणगढदेखि बुटवलसम्मको ११३ किलोमिटर दूरी सामान्यतया दुई घण्टाभित्र पार गर्न सकिने भएको छ।

सडक सञ्चालन सहज भएपछि कतिपय निजी सवारी चालकले एक घण्टा ३० मिनेटदेखि एक घण्टा ५० मिनेटमै यात्रा पूरा गरेको अनुभव सुनाएका छन्। विगतमा दाउन्ने क्षेत्रमा हुने लामो जामका कारण रातभर सडकमै बिताउनुपर्ने अवस्था अहिले अन्त्य भएको यात्रुहरू बताउँछन्।

रुपन्देहीका उद्योगी विमल कालाखेतीले गत साता बुटवलबाट नारायणगढ एक घण्टा ३० मिनेटमै पुगेको बताए। यस्तै, तिलोत्तमाका उद्योगी प्रकाश आचार्यले परिवारसहित एक घण्टा ५० मिनेटमा घर पुगेको अनुभव सुनाउँदै विगतमा १६ घण्टासम्म जाममा बस्नुपरेको अवस्था अहिले सम्झनामै सीमित भएको बताए।

सञ्चारकर्मी प्रकाश ज्ञवालीले पनि यसअघि यही सडक पार गर्न १२ घण्टाभन्दा बढी समय लाग्ने गरेको स्मरण गर्दै अहिले दुई घण्टामै यात्रा पूरा गर्न सकिएको बताए।

सार्वजनिक यातायात व्यवसायीहरूका अनुसार पनि सडकको अवस्था उल्लेखनीय रूपमा सुधार भएको छ। चौतारी यातायात सेवा प्रालिका अध्यक्ष भुवन बरालले यात्रु चढाउँदै–ओराल्दै जाँदा समेत करिब तीन घण्टामै गन्तव्य पुग्न सकिने र सवारीसाधनको मर्मत खर्चसमेत घटेको बताए।

नारायणगढ–बुटवल सडक आयोजनाका पूर्वी खण्डका इन्जिनियर शिव खनालका अनुसार आयोजनाको करिब ९२ प्रतिशत काम सम्पन्न भइसकेको छ। अहिले सडक सुरक्षा संरचना र केही स्थानमा नाली निर्माणको काम मात्रै बाँकी रहेको उनले जानकारी दिए।

करिब १६ अर्ब ९९ करोड रुपैयाँ लागतको यो आयोजना एसियाली विकास बैंक (एडिबी) को ८५ प्रतिशत सहुलियतपूर्ण ऋण र नेपाल सरकारको १५ प्रतिशत लगानीमा निर्माण भइरहेको हो। चिनियाँ सरकारी कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन’ले २०७५ चैतदेखि निर्माण थालेको सडक सुरुमा ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले पटक–पटक म्याद थपिएको थियो।

दुई लेनको पुरानो सडकलाई चार लेनमा विस्तार गरिएको छ भने बजार क्षेत्रका करिब २८ किलोमिटर सडकलाई छ लेनमा स्तरोन्नति गरिएको छ। निर्माण सम्पन्नतर्फ उन्मुख भएसँगै यस सडकखण्डमा यात्रा अहिले पहिलेको तुलनामा धेरै सहज, सुरक्षित र छिटो भएको यात्रुहरूको अनुभव छ।