मंगलबार सिंहदरबारमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग भएको छलफलमा उनले बजेटमार्फत आर्थिक रूपान्तरणको स्पष्ट दिशा तय गरिएको उल्लेख गर्दै अबको प्राथमिकता त्यसको प्रभावकारी कार्यान्वयन रहेको बताए।
अर्थमन्त्री वाग्लेले अर्थतन्त्रको वास्तविक अवस्था र बजारको मनोविज्ञान बैंकिङ क्षेत्रले नजिकबाट बुझेको भन्दै बजेट कार्यान्वयन र विद्यमान समस्या समाधानका लागि बैंकरहरूको सुझाव र अनुभव महत्वपूर्ण हुने बताए।
उनले हाल कर्जाको ब्याजदर ऐतिहासिक रूपमा न्यून, बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदा पनि कर्जाको माग नबढ्नु र व्यवसायीहरू लगानी विस्तारमा हिचकिचाउनु चिन्ताको विषय भएको उल्लेख गरे।
सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध नियामक र नियन्त्रित निकायको मात्र नभई साझा राष्ट्रिय जिम्मेवारीको भएको बताउँदै उनले आर्थिक वृद्धि, रोजगारी सिर्जना र वित्तीय स्थायित्वलाई साझा लक्ष्यका रूपमा अघि बढाइने स्पष्ट पारे।
कानुनी तथा प्रक्रियागत सुधार आवश्यक परे सरकार निर्णय लिन पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्री वाग्लेले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वय अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
उनले छलफलमा प्राप्त सुझावलाई केवल समस्याको सूचीमा सीमित नराखी कार्यान्वयनको ठोस योजनामा रूपान्तरण गरिने विश्वाससमेत व्यक्त गरे।