

काठमाडौं । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले व्यापारिक गतिविधि सुरु गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार गत अगस्ट १ देखि दुवै देशबीच लिपुलेक नाका प्रयोग गरेर व्यापारिक आवतजावत सुरु भएको हो।
भारतीय तिब्बत व्यापार संघका अध्यक्ष जीवनसिंह रक्लीको नेतृत्वमा पहिलो भारतीय व्यापारिक टोली चीनको स्वशासित क्षेत्र तिब्बतस्थित तक्लाकोट पुगेको बताइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार टोलीमा २० जना दर्ता भएका व्यापारी र चार भरियासहित सदस्य सहभागी थिए। टोलीले तक्लाकोटमा आवश्यक व्यापारिक प्रक्रिया पूरा गरी एक रात बसेपछि भारत फर्किएको जनाएको छ।
यसपटक तक्लाकोटसँग परम्परागत व्यापार गर्दै आएका भारतीय व्यापारीलाई मात्रै चीनले व्यापारको अनुमति दिएको बताइएको छ। भारतबाट कुनै व्यापारिक सामग्री चीन लगिएको उल्लेख छैन भने फर्कँदा उनीहरूले के–कस्ता सामग्री ल्याए भन्ने विवरण पनि सार्वजनिक गरिएको छैन।
भारतीय प्रशासनका अनुसार गुञ्जीस्थित अध्यागमन कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरेपछि अगस्ट १ मा पहिलो व्यापारिक टोली चीन प्रवेश गरेको हो। अर्को टोली कहिले जाने भन्नेबारे भने हालसम्म टुंगो लागिनसकेको र चिनियाँ अधिकारीसँग समन्वय भइरहेको भारतीय अधिकारीहरूको भनाइ छ।
यता, नेपाल सरकारले यस विषयमा औपचारिक प्रतिक्रिया जनाएको छैन। परराष्ट्र मन्त्रालयले लिपुलेक नेपाली भूमि भएको भन्दै भारत र चीनलाई कूटनीतिक नोट पठाएको जानकारी यसअघि दिएको थियो। तर भारत र चीनले नेपालको दाबी स्वीकार नगरी सो मार्ग हुँदै व्यापारिक गतिविधि अघि बढाएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
उल्लेखित घटनाबारे भारत र चीनबाट आएका विवरण सार्वजनिक भए पनि नेपालको आधिकारिक धारणा भने हालसम्म सार्वजनिक भएको छैन।