

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेश प्रदेशका विभिन्न क्षेत्रमा देखिएको हिंसात्मक घटनापछि विकसित पछिल्लो परिस्थितिबारे पार्टीका पदाधिकारी तथा नेताहरूसँग छलफल गरेका छन्।
छलफलमा काठमाडौंमा उपलब्ध पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा जुममार्फत कोशी र मधेश प्रदेशका प्रदेश सरकारका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, जिल्ला कार्यसमिति र पालिका तहका नेतृत्वको सहभागिता रहेको थियो।
बैठकमा मधेश प्रदेशको वर्तमान सुरक्षा अवस्था, हिंसात्मक घटनाको प्रभाव, स्थानीय जनजीवनमा परेको असर तथा शान्ति–सुरक्षा कायम गर्ने उपायका विषयमा विस्तृत छलफल भएको जनाइएको छ।
सभापति थापाले प्रभावित क्षेत्रको अवस्थाबारे स्थानीय नेतृत्वबाट जानकारी लिँदै शान्ति, सामाजिक सद्भाव र कानुनी शासन कायम गर्न पार्टीका सबै तहलाई जिम्मेवार ढंगले भूमिका निर्वाह गर्न निर्देशन दिएको स्रोतले जनाएको छ।
छलफलमा स्थानीय तहमा जनप्रतिनिधि र पार्टी संगठनमार्फत नागरिकसँग समन्वय बढाउने, अफवाह फैलिन नदिने तथा समुदायबीच विश्वास र सद्भाव कायम गर्न सक्रिय भूमिका खेल्ने विषयमा समेत जोड दिइएको बताइएको छ।