नेकपाले बोलायो केन्द्रीय संयोजन समितिको बैठक

नेकपाले बोलायो केन्द्रीय संयोजन समितिको बैठक

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, तराई–मधेसमा विकसित अवस्था, प्रदेश सरकार गठन, सरकारका गतिविधि तथा पार्टीको आन्तरिक तयारीलगायतका विषय मुख्य एजेन्डाका रूपमा रहनेछन्।

प्रवक्ता ज्वालाले प्रदेश सरकार गठन, सञ्चालनको ढाँचा र समसामयिक राजनीतिक परिस्थितिबारे विस्तृत छलफल हुने बताए। उनका अनुसार बैठकले प्रदेश सरकार गठन तथा सञ्चालनलाई प्रभावकारी बनाउन आवश्यक संयन्त्र गठन गर्ने विषयमा पनि निर्णय लिन सक्नेछ।

साउन ९ गते नेकपा एमाले र नेकपाबीच प्रदेश सरकार गठन र सहकार्यका विषयमा तीनबुँदे सहमति भएको थियो। उक्त सहमतिलाई लिएर पार्टीभित्र कुनै विवाद नरहेको ज्वालाले स्पष्ट पारे।

बैठकबाट प्रदेश सरकार सञ्चालन, राजनीतिक रणनीति तथा संगठनात्मक तयारीसँग सम्बन्धित महत्त्वपूर्ण निर्णय आउने अपेक्षा गरिएको छ।